वीरगन्ज,२९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवाहरूले सम्मान गरेका छन्।
स्थानीय युवाहरूले माला, अबिर तथा खादा लगाएर उनलाई स्वागत गर्दै सम्मान व्यक्त गरेका हुन्। सो अवसरमा युवाहरूले क्षेत्रको विकास र स्थानीय समस्यासँग सम्बन्धित विषयहरू समेटिएको एक डायरी सांसद पन्तलाई हस्तान्तरण गरेका थिए।
स्थानीय युवा चन्दन प्रजापतिका अनुसार, युवाहरूले मुख्य रूपमा बेरोजगारी समस्या समाधान गर्दै युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्न, अधुरो रहेको नगवा पोखरीको निर्माण सम्पन्न गर्न, नगवा चौकदेखि भित्री गाउँसम्म जाने मुख्य सडक निर्माण गर्न तथा नगवा धर्मशालामा रहेका अधुरा कामहरू पूरा गर्न आग्रह गरेका छन्।
उनका अनुसार, डायरीमा यी विषयहरूसँगै क्षेत्रका अन्य स्थानीय आवश्यकता तथा समस्याहरू पनि समावेश गरिएको छ। “निर्वाचनमा हामी युवाहरूले साथ दिएका थियौँ। अब विकासका कामहरूमा पनि उहाँबाट ठोस प्रतिबद्धता र छिटो कार्यान्वयनको अपेक्षा गरेका छौँ,” उनले भने।
कार्यक्रममा बोल्दै सांसद हरि पन्तले युवाहरूको उत्साह र अपेक्षालाई सकारात्मक रूपमा लिँदै हस्तान्तरण गरिएको डायरीलाई मार्गदर्शनका रूपमा उपयोग गर्ने बताए। उनले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेरोजगारी न्यूनीकरण, पूर्वाधार विकास तथा स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
“नगवा लगायत सम्पूर्ण क्षेत्रको विकास र समृद्धिका लागि युवाहरूसँग सहकार्य गरेर अघि बढ्नेछु,” उनले भने।
कार्यक्रमले निर्वाचनपछि स्थानीय तहमा विकासप्रति जनताको उच्च अपेक्षा र सक्रिय सहभागितालाई पनि उजागर गरेको छ। स्थानीयवासी तथा युवाहरूले सांसद पन्तबाट क्षेत्रको समग्र विकासमा प्रभावकारी र जनमुखी भूमिका रहने विश्वास व्यक्त गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवार हरि पन्तले नेकपा (एमाले) का पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतान्तरले पराजित गर्दै २७ हजार २७४ मत प्राप्त गरी विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसका अनिल रुंगटाले ११ हजार ८८५ मत ल्याएका थिए।

