राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

spot_img

काठमाडौं,२९ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको बचत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले कुल १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक संस्थाहरूले आगामी चैत १ गते राति ७ बजेसम्म अनलाइनमार्फत आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। यो निक्षेप लगानी सन् २०२६ मार्च १९ देखि सुरु भई २०२७ मार्च १९ सम्म, अर्थात् ३६६ दिनका लागि कायम रहने जनाइएको छ।

कुल रकममध्ये सबैभन्दा ठूलो हिस्सा ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि छुट्याइएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राख्ने योजना बनाएको छ।

वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम राख्दै कोषको प्रभावकारी परिचालन गर्ने उद्देश्यले वर्गअनुसार रकम बाँडफाँट गरिएको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले केही मापदण्ड पूरा गर्नुपर्नेछ। सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजी पर्याप्तता अनुपात कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने सर्त राखिएको छ। बैंकहरूले प्रस्ताव गरेको ब्याजदर र संस्थाको वित्तीय अवस्थाको आधारमा राष्ट्र बैंकले निक्षेप राखिने संस्थाको अन्तिम छनोट गर्ने जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय