काठमाडौं,३० फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक तथा बनावटी भिडियो सामग्री फैलाएको आरोपमा एक नेपालीसहित १० जनालाई पक्राउ गर्न आदेश दिइएको छ। यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शम्सीले उनीहरूलाई तत्काल मुद्दा चलाउन निर्देशन दिएका हुन्।
खलीज टाइम्सका अनुसार क्षेत्रीय सुरक्षा संवेदनशीलताका बीच डिजिटल प्लेटफर्महरूको निगरानी गर्दा ती व्यक्तिहरूले मिसाइल आक्रमण र हवाई प्रतिरक्षा प्रणालीसम्बन्धी भ्रामक भिडियो सार्वजनिक गरेको भेटिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले हवाई रक्षा प्रणालीले आक्रमण रोकिरहेको दृश्य, जमिनमा खसेका प्रोजेक्टाइलहरू तथा घटनास्थलमा जम्मा भएको भीडका दृश्यहरू सामाजिक सञ्जालमा प्रसारित गरेको खुलेको छ।
त्यसैगरी केही भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको पनि पाइएको छ, जसमा विस्फोट, महत्वपूर्ण स्थलहरूमा आक्रमण भएको जस्तो दृश्य र ठूलो आगलागी भएको देखाइएका थिए। यस्ता भिडियोमार्फत देशभित्र सुरक्षा संकट उत्पन्न भएको भ्रामक सन्देश फैलाउने प्रयास गरिएको अधिकारीहरूले जनाएका छन्।
पक्राउ परेकामध्ये एक जना नेपाली रहेका छन् भने अन्यमा इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बंगलादेश, क्यामरून र भारतका नागरिक रहेका छन्। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक भएको बताइएको छ।
अधिकारिहरूका अनुसार यस्ता सामग्री सार्वजनिक गर्दा सार्वजनिक सुरक्षामा नकारात्मक असर पर्नुका साथै जनतामा भ्रम फैलिन सक्ने, शत्रुतापूर्ण सञ्चारमाध्यमलाई तथ्य विकृत गर्ने आधार मिल्ने तथा देशको रक्षा प्रणालीसम्बन्धी संवेदनशील जानकारी बाहिरिन सक्ने जोखिम हुन्छ।
महान्यायाधिवक्ता शम्सीले यस्ता गतिविधि यूएईको कानुनअनुसार गम्भीर अपराध भएको उल्लेख गर्दै दोषी ठहर भए कम्तीमा एक वर्ष कैद र न्यूनतम एक लाख दिरहम जरिवानाको सजाय हुन सक्ने चेतावनी दिएका छन्। साथै सार्वजनिक अभियोजन कार्यालयले यस्ता गतिविधि कदापि सहन नहुने र संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

