काठमाडौँ,३० फागुन । इनिशा विक हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। माइतीघरबाट बानेश्वरसम्म गएर उनीहरूले निष्पक्ष छानबिन र दोषीलाई कानुन अनुसार कडा भन्दा कडा सजाय दिलाउन सरकारसँग माग राखेका हुन्।
प्रदर्शनकारीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउने र महिला तथा दलितमाथिको हिंसा अन्त्य गर्ने समेत नाराबाजी गरेका थिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनकी मृत्यु भएको देखिएको छ। प्रहरीले प्रकरणमा अनुसन्धान जारी राखेको छ।




