गगन थापालाई राजीनामा नदिन कांग्रेसका नेताहरूको आग्रह

spot_img

काठमाडौं,३० फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन पार्टीका ३० भन्दा बढी नेताहरूले सुझाव दिएका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा गएको टोलीले शनिबार थापालाई भेटेर यस्तो आग्रह गरेको हो।

भेटका क्रममा नेताहरूले मुलुक, संविधान र पार्टीसमक्ष विभिन्न चुनौती देखिएको अवस्थामा नेतृत्व परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए। सहमहामन्त्री रसाइलीका अनुसार उनीहरूले थापालाई आगामी १५औँ महाधिवेशनसम्म पार्टीलाई निकास दिन र संगठनलाई मजबुत बनाउन नेतृत्वमा निरन्तरता दिन आग्रह गरेका छन्।

नेताहरूले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै मतदाताले कहिलेकाहीँ मन र मत परिवर्तन गर्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको बताएका थिए। त्यसलाई लिएर तत्काल राजीनामा दिनु आवश्यक नभएको उनीहरूको भनाइ थियो।

सभापति थापालाई भेट्न गएका टोलीमा जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारलगायत करिब तीन दर्जन केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षाकृत प्रतिकूल परिणाम आएपछि कांग्रेसभित्र थापाले सभापति पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्। केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा थापाले आफू राजीनामाबारे सोचिरहेको संकेत दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय