गोरखा,०२ चैत । गोरखामा सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा छानबिन समिति बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत विकका अनुसार समितिले दुर्घटनाको कारणबारे स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गर्नेछ। दुर्घटनामा १४ जना भारतीय तीर्थयात्री सवार बाग्मती प्रदेश १–००६ख ८४३० नम्बरको माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिकै भिरबाट खसेको थियो।
मनकामना मन्दिरमा पूजा गरेर फर्किने क्रममा भएको उक्त दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नईका सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको शव प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरी भारतीय दूतावासलाई जिम्मा लगाइएको छ।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।




