काठमाडौं,०३ चैत । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगलाई ठगी गरेको आरोपमा ३ लाख रुपैयाँ नगद जरिवाना गरेको छ।
बजार अनुगमनको क्रममा विभागको टोलीले उद्योगले अनावश्यक बदमासी गरेको पत्ता लगाएपछि तत्काल ‘अन द स्पट’ जरिवाना लगाएको हो। विभागका अनुसार, उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ खण्ड (छ) उल्लंघन गर्दै ऐनको दफा १६ को उपदफा १ विपरीत कार्य गरेको प्रमाण भेटिएको छ।
हाल बजारमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको भन्दै उपभोक्तामा हाहाकार मच्चिएको छ। यस विषम परिस्थितिमा केही उद्योगी, व्यवसायी र बिक्रेताहरूले ग्यास लुकाउने र बढी मूल्य लिने गरेको आरोप लागिरहेको छ। उक्त कम्पनीको गलत कार्य फेला परेपछि विभागले कारबाही गरेको हो।
यस्तै, विभागले उपभोक्ता हित संरक्षण ऐनको उल्लंघन गरेको भन्दै बडिमालिका खाद्य भण्डार, मैतिदेवीलाई १५ हजार रुपैयाँ र कीर्तिपुरस्थित दुवाडी स्टोर एन्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ नगद जरिवाना गरेको जानकारी दिएको छ।




