spot_img

गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

spot_img
spot_img

काठमाडौं,०७ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएका कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान दिएका थिए।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाले माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापना गर्न निर्णायक भूमिका खेलेका थिए। विशेषगरी २०६२/६३ को जनआन्दोलनको नेतृत्व गर्दै उनले दलहरूलाई एकीकृत गरी पूर्ण लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका थिए। सोही आन्दोलनपछि २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएको थियो, जसलाई नेपालको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा लिइन्छ।

उनकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन र हतियार व्यवस्थापन सम्पन्न भएको थियो भने २०६४ सालमा संविधानसभा निर्वाचन सम्पन्न गराउँदै बहुदलीय लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाइएको थियो। यद्यपि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि यो ऐतिहासिक उपलब्धिका रूपमा लिइन्छ।

कोइरालाकै नेतृत्वमा २०६५ जेठ १५ गते २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको थियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरोध गर्दै उनले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए।

उनको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय