बीरगन्ज,०७ चैत । बाराको सदरमुकाम कलैयामा निर्माणाधीन मुख्य सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ। मनमत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने उक्त सडक निर्माणको जिम्मा पाएको कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न नसकेको हो।
सार्वजनिक खरिद नियमावलीअनुसार थपिएको पछिल्लो म्याद २०८२ चैत ४ गते सकिए पनि आयोजनाको भौतिक प्रगति जम्मा २३ प्रतिशत र वित्तीय प्रगति २१.४७ प्रतिशतमा मात्र सीमित रहेको छ। सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभीले २२ करोड ३१ लाख रुपैयाँभन्दा बढी लागतमा उक्त ठेक्का लिएको हो। २०७८ पुस २७ गते सम्झौता भएको यो योजना सुरुमा २०७९ माघभित्रै सम्पन्न गर्ने लक्ष्य थियो।
हालसम्म केही स्थानमा नाला निर्माण सम्पन्न भए पनि अधिकांश क्षेत्रमा काम सुस्त छ। संस्कार एफएमदेखि भरत चोकसम्म नाला बनेको छ भने अन्य खण्डमा आंशिक काम मात्रै भएको छ। सबैभन्दा महत्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम भने अझै सुरु हुन सकेको छैन।
निर्माणमा ढिलाइका कारण स्थानीय जनजीवन र व्यापारिक गतिविधि प्रभावित भएका छन्। धुलो, हिलो र बिग्रिएको सडकका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ भने व्यवसायीहरू ग्राहक घट्दा समस्यामा परेका छन्। स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि ठोस प्रगति नभएको गुनासो गरेका छन्।
यसैबीच हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले अब उक्त कम्पनीलाई थप म्याद नदिने स्पष्ट पारेको छ।




