बीरगन्ज,०७ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बीरगन्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण रोकिएको छ।
लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। खेल रोकिँदा कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा ओपनर रवीन्द्र शाही ९ रन र सुनिल धमला ७ रनमा क्रिजमा थिए। लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चेका थिए भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन दिएका थिए।
यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका १९ खेल वीरगञ्ज, १७ खेल जनकपुर र १० खेल मुलपानीमा हुने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साविक विजेता नेपाल पुलिस क्लब हो। आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसपटक कुनै खेल राखिएको छैन र ती खेल मुलपानीमा सारिएको छ।

