विज्ञान मन्त्रालय गाभ्ने चर्चाप्रति महावीर पुनको असन्तुष्टि

spot_img

काठमाडौं,२१ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। विज्ञान तथा प्रविधि मन्त्रालयलाई खारेज वा अन्य मन्त्रालयमा गाभ्ने चर्चा चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत सरकारको योजनामाथि प्रश्न उठाएका हुन्।

सोमबार फेसबुकमा प्रतिक्रिया जनाउँदै पुनले वर्तमान सरकारबाट विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने संकेत नदेखिएको टिप्पणी गरे। नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत सीमित गर्न खोजिएको र विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै समाप्त पार्न खोजिएको आशंका उनले व्यक्त गरेका छन्।

पुनका अनुसार नवप्रवर्तन केवल उद्योग वा व्यवसायमा मात्र सीमित विषय होइन। राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, विज्ञान, प्रविधि, साहित्य र संगीतलगायत सबै क्षेत्रमा नवप्रवर्तनको भूमिका महत्वपूर्ण रहने उनले उल्लेख गरेका छन्।

सरकारले अनुसन्धान र विज्ञान प्रविधिलाई आवश्यक प्राथमिकता नदिएको भन्दै उनले अप्रत्यक्ष रूपमा चेतावनीसमेत दिएका छन्। उनले विज्ञान तथा अनुसन्धान क्षेत्रमा लगानी बढाउनुपर्ने आफ्नो पुरानो माग दोहोर्‍याउँदै जीडीपीको कम्तीमा एक प्रतिशत बजेट यस क्षेत्रमा छुट्याउन आग्रह गरेका छन्।

सरकारले मन्त्रालय पुनर्संरचना र संख्या घटाउने तयारी गरिरहेको समयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभिने चर्चाले बहस चर्किएको छ। यही सन्दर्भमा पुनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय