काठमाडौँ,०८ चैत । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना भइरहेको प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरीका ब्याट्सम्यान आशिफ शेखले शानदार शतक प्रहार गरेका छन्।
टस हारेर फिल्डिङ रोजेको बागमतीविरुद्ध सुरुमा ब्याटिङ गरेको सशस्त्र प्रहरीका लागि आशिफ शेखले ८८ बलमा १३ चौका र ३ छक्काको मद्दतले १०५ रन बनाएका छन्। ३३ ओभरमा तीन विकेट गुमाएर सशस्त्रले १९४ रन बनाएको छ। यस समयमा शेखसँगै सुमित महर्जन पनि ब्याटिङमा छन्। सुमितले ३७ बलमा १८ रन बनाएका छन्।
प्रधानमन्त्री कपको आठौँ संस्करण शनिबारदेखि सुरु भएको हो। प्रतियोगिताका खेलहरू काठमाडौँको मुलपानी, जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशाला र वीरगञ्जको नारायणी रंगशालामा भइरहेको छ।
वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, पुलिस र एपिएफ) गरी कुल १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिता सिङ्गल राउन्ड रोबिन लिग प्रणालीमा खेलिने छ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।

