बीरगन्ज,१२ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा ढिलाइपछि शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला पार्टीले अभियानको सुरुवात गरेको हो। कार्यक्रम जिल्ला सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री को अध्यक्षतामा सम्पन्न भएको थियो भने पूर्वमन्त्री रमेश रिजाल प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, अजय चौरसिया, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, जिल्ला सचिव तथा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम लगायत नेताहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
एक महिने यो अभियान अन्तर्गत पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने लक्ष्य राखिएको छ। यस क्रममा क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिक संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
प्रदीप पौडेल का अनुसार अभियानमार्फत डिजिटल प्रणाली प्रयोग गरी सदस्यता अद्यावधिक गरिनेछ। पार्टीलाई गाउँ–टोलसम्म पुनः सक्रिय बनाउने उद्देश्यसहित सदस्यता विवरणलाई व्यवस्थित बनाउने योजना रहेको उनले बताए।
पार्टीको तथ्यांकअनुसार देशभर करिब ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेका छन्, जसमा ठूलो संख्यामा फोन नम्बर अद्यावधिक नभएको वा त्रुटिपूर्ण रहेको देखिएको छ। अब अभियान अन्तर्गत सदस्यहरूको विवरण स्थलमै पुगेर अद्यावधिक गरिने, फोटो खिचिने र मोबाइल नम्बर अनिवार्य रूपमा अभिलेख गरिने व्यवस्था गरिएको छ।

