काठमाडौँ,१२ चैत । आज प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहअघि नै नेपाली बाहेक मातृभाषामा शपथ लिने सांसदको संख्या ६३ पुगेको छ।
संघीय संसद् सचिवालय का अनुसार ६३ जना सांसदले इमेल वा व्यक्तिगत रूपमा उपस्थित भई आफ्नो मातृभाषामा शपथ लिने जानकारी दिएका छन्। शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे हुनेछ र ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।
संसद् सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिरसहित कार्यक्रम तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।
इतिहासमा फर्केर हेर्दा, २०६३ सालको अन्तरिम संसद्का ५८ जनाले मातृभाषामा शपथ लिएका थिए। गणतन्त्र स्थापना पश्चात् यो संख्या बढ्दै गएको छ। २०६४ को संविधानसभामा २६४ सांसदले आ–आफ्ना मातृभाषामा शपथ लिएका थिए।
यसपालि सांसदहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दू, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार र बराम लगायत ३५ भन्दा बढी भाषामा शपथ लिने तयारी गरेका छन्।
अघिल्ला निर्वाचनमा पनि मातृभाषामा शपथ लिने सांसदको संख्या क्रमशः २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ रहेको थियो।

