काठमाडौं,१८ चैत । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादबीच नेता शेखर कोइराला ले पार्टीभित्र योजनाबद्ध रूपमा कमजोरी ल्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा बोल्दै कोइरालाले कांग्रेसलाई कमजोर पार्न “डिजाइन अनुसार” विभिन्न प्रयोग भइरहेको दाबी गरे। उनले वर्तमान अवस्था “कन्ट्रोल्ड डेमोक्रेसी” को अभ्यास जस्तो देखिएको पनि टिप्पणी गरे।
संस्थापन पक्षसँग सहकार्यका लागि आफूहरू तयार रहेको स्पष्ट पार्दै उनले भने— सहमति सम्भव छ, तर कुनै हालतमा झुकेर होइन। उनको यो अभिव्यक्ति विशेषगरी नेता गगन थापा तर्फ लक्षित मानिएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार, कोइरालाले पार्टीभित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियामा असन्तुलन देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
यस भनाइले कांग्रेसभित्रको आन्तरिक राजनीति थप तातेको संकेत गरेको छ, जहाँ सहमति र नेतृत्वको शैलीलाई लिएर स्पष्ट ध्रुवीकरण देखिन थालेको छ।



