काठमाडौं,२२ चैत । कलाकार सागर लम्साल ‘बले’विरुद्ध हाललाई बलात्कारको मुद्दा नचलाइने भएको छ।
अमेरिकामा बस्ने एक नेपाली युवतीले लगाएको आरोपपछि उनलाई नियन्त्रणमा लिइएको भए पनि औपचारिक जाहेरी नपरेका कारण बलात्कारसम्बन्धी मुद्दा अघि बढाउन कठिन भएको प्रहरी स्रोतले जनाएको छ।
हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। प्रहरीले उनलाई सार्वजनिक शान्ति भंगको कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
स्रोतका अनुसार औपचारिक जाहेरी नआएकाले तत्काल बलात्कार मुद्दा चलाउन नसकिने अवस्था रहेको छ। तर, अनुसन्धानका क्रममा थप प्रमाण वा जाहेरी प्राप्त भएमा अर्को कानुनी प्रक्रिया अघि बढाइनेछ।
कानुनअनुसार पीडित र आरोपी दुवै नेपाली नागरिक भए विदेशमा घटेको घटनासमेत नेपालमा मुद्दा चलाउन सकिने व्यवस्था भए पनि हालसम्म आवश्यक जाहेरी नआएकाले प्रक्रिया अड्किएको बताइएको छ।
प्रहरीले अहिलेको अवस्थालाई ध्यानमा राख्दै हिरासतमा राख्न सकिने अन्य कानुनी आधार प्रयोग गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

