काठमाडौं,२३ चैत । नेपाली कांग्रेस को संसदीय दलको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा हुने बैठकमा संसदीय दलको नेता चयनको विषय मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ।
कांग्रेस सांसद बासना थापा का अनुसार औपचारिक एजेन्डा सार्वजनिक नभए पनि दलको नेता चयनबारे छलफल हुने सम्भावना बलियो छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतका नेताहरूको चर्चा भइरहेको छ।
यसअघि सभामुख चयन नहुँदा ज्येष्ठ सदस्य केसीले संसद् बैठक सञ्चालन गरिरहेका थिए। अहिले डोलप्रसाद अर्याल सभामुखमा चयन भइसकेकाले कांग्रेसले अब दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य हुने भएकाले यो पदलाई विशेष महत्वका साथ हेरिएको छ। कांग्रेसको विधानअनुसार एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानमार्फत् नेता चयन गरिने व्यवस्था छ।
पार्टीभित्रको गुटगत प्रतिस्पर्धाका कारण यसपटक पनि मतदानबाटै नेता चयन हुने सम्भावना उच्च रहेको नेताहरू बताउँछन्।

