रौतहट,१३ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ। केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मंगलबार उद्घाटन गरे।
केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्यांक केन्द्रमा संकलन हुनेछ। मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको केन्द्र आवश्यक भएको बताए।
जल तथा मौसम विभाग मधेस प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताए। वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताए।
अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उनको भनाइ छ। केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राखे।



