काठमाडौं, २९ चैत । भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका आशा भोस्लेलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी जटिलता देखिएपछि उनलाई शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको हो। ९२ वर्षीया भोस्ले केही महिनायता अस्वस्थ रहँदै आएको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनको अवस्था गम्भीर रहेको छ, तर परिवारको तर्फबाट आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
आठ दशकभन्दा लामो सांगीतिक यात्रामा उनले हजारौं गीतमा स्वर दिएकी छन्। हिन्दी मात्र होइन, विभिन्न भाषामा गीत गाएर उनले विशेष पहिचान बनाएकी छन्। नेपाली संगीत क्षेत्रमा पनि उनका स्वरमा रहेका थुप्रै गीतहरू लोकप्रिय छन्।
हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको छ।

