काठमाडौं,०५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजा वा भाँगोबाट बनेको जस्तो देखिने प्रतिबन्धित तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनी शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए।
प्रस्थानतर्फको ‘होल्ड ब्यागेज चेकिङ’ क्षेत्रमा एक्स-रे स्क्रिनिङका क्रममा उनको सामान शंकास्पद देखिएपछि सुरक्षाकर्मीले जाँच गरेका थिए। त्यसक्रममा १.२५ लिटरका पाँचवटा बोतलमा उक्त तेल फेला परेको जनाइएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राज कुमार सिलवाल का अनुसार पक्राउ परेका व्यक्तिसहित बरामद सामग्रीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरो को जिम्मा लगाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

