रौतहट,०५ वैशाख । बसमा सवार यात्रुको झोलाबाट पैसा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसमा यात्रु तारादेवी राई को झोलाबाट पर्स चोरी गरेर भाग्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३५ वर्षीय अभिषेक तामाङ रहेका छन्। उनले चोरीपछि बसबाट ओर्लिएर इ–रिक्सामा भाग्ने प्रयास गरेका थिए। सोही क्रममा प्रहरी सहायक निरीक्षक मेरुलालप्रसाद गुप्ता नेतृत्वको टोलीले उनलाई लखेटेर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउपछि तामाङले सुरुमा उल्टै पीडित यात्रुमाथि आरोप लगाउँदै गालीगलौज गरेका थिए। तर खानतलासीका क्रममा उनको जुत्ताभित्र लुकाइएको चोरीको रकम बरामद भएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट का प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्याल ले जानकारी दिएका छन्।

