बीरगन्ज,०५ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बीरगन्ज महानगरपालिका–१४ पिपरास्थित गणको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सहकार्य रहेको थियो। कार्यक्रममार्फत आपतकालीन अवस्थामा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्य राखिएको थियो।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका २६ जना कर्मचारी र १२ जना सर्वसाधारण गरी कुल ३८ जनाले रक्तदान गरेका छन्।
स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवसेवामूलक कार्यक्रम गर्दै आएको सशस्त्र प्रहरीले यस पटक पनि रक्तदानमार्फत समुदायसँगको सहकार्यलाई जोड दिएको जनाएको छ।
कार्यक्रमबारे जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला ले दिएका हुन्।

