जनकपुर,०५ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३ का लागि लागू हुने शुल्क संरचना, प्रशासनिक विवरण तथा आवश्यक कागजात सात दिनभित्र बुझाउनुपर्नेछ।
नगर शिक्षा समितिको चैत ३० गते बसेको बैठकको निर्णयअनुसार यो निर्देशन जारी गरिएको हो। विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६१ तथा विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि २०८१ अनुसार स्पष्ट आधार खुलाउनुपर्ने उल्लेख गरिएको छ।
शाखा प्रमुख अञ्जु पाण्डे का अनुसार विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पब्लिकेसनको नाम र ठेगानासहित पेश गर्नुपर्नेछ।
उनका अनुसार विद्यालयमा हुने सम्भावित अनियमितता रोक्न र शुल्क व्यवस्थापनमा पारदर्शिता कायम गर्न यो कदम चालिएको हो। तोकिएको समयभित्र विवरण नबुझाउने विद्यालयमाथि कारबाही गरिने चेतावनी समेत दिइएको छ।

