विवादपछि गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणस् आरोप हल्लामात्र

spot_img

काठमाडौँ,०७ वैशाख । विभिन्न आरोप र विवादमा नाम जोडिएपछि गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लामो विवरण सार्वजनिक गर्दै आफूविरुद्ध फैलाइएका धेरै दाबीहरू भ्रमपूर्ण भएको बताएका छन्।

गुरुङका अनुसार हाल उठाइएको “२५ लाख रुपैयाँको सेयर लुकाएको” भन्ने आरोप सत्य होइन। उनले आफ्नो सम्पत्ति विवरणमै २ करोड रुपैयाँभन्दा बढीको सेयर लगानी स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गर्दै यसलाई सम्बन्धित निकायबाट पनि हेर्न सकिने बताएका छन्।

उनले सेयर लगानीलाई लुकाउने विषय नभई वर्गीकरणको विषय भएको स्पष्ट पार्दै भने, “सबै कारोबार पारदर्शी बैंकिङ प्रणालीमार्फत भएको हो, लुकाउने कुनै आधार छैन।”

मन्त्री गुरुङले लगानी ऋणमार्फत गरिएको र त्यसको मिति तथा लिखित तमसुकसमेत प्रमाणका रूपमा रहेको उल्लेख गरेका छन्। उनका अनुसार सबै आर्थिक कारोबार बैंकमार्फत भएकाले स्रोतबारे कुनै अस्पष्टता नरहेको दाबी गरिएको छ।

“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले सेयर बजारमा लगानी गर्नु सामान्य प्रक्रिया भएको बताउँदै एउटै कम्पनीमा हजारौं सेयरधनी हुने भएकाले त्यसलाई साझेदारी भनेर गलत रूपमा व्याख्या गरिएको टिप्पणी गरेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनबारे उनले गृह मन्त्रालय नभई सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।

गुरुङले लगानीको पृष्ठभूमि र समयबारे उठेका प्रश्नलाई पनि अस्वीकार गर्दै पछिल्ला घटनाका आधारमा पुराना निर्णयलाई दोष दिनु गलत व्याख्या भएको बताएका छन्।

उनले आरोप र सत्य फरक कुरा भएको भन्दै प्रमाणका आधारमा मात्रै निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन्। साथै, पार्टी र सरकारले गर्ने जुनसुकै निर्णय स्वीकार गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।

गुरुङले अन्त्यमा अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हल्लाभन्दा तथ्यमा आधारित छलफल आवश्यक रहेको बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय