बीरगन्ज, ११ वैशाख । पर्साको गण्डक नहर क्षेत्रमा वर्षौंदेखि गरिएको अतिक्रमण हटाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले नहर किनारामा बनेका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने अभियान सुरु गर्न लागेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बीरगन्जको गण्डक चोकदेखि जानकी टोला इनर्वासम्म करिब २६ किलोमिटर क्षेत्रभित्र नहर किनारामा बनेका घर, टहरा तथा अन्य संरचनाहरू हटाइनेछ।
उनले आइतबारदेखि अतिक्रमित संरचना हटाउने काम औपचारिक रूपमा सुरु गरिने जानकारी दिए। अभियानका लागि प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी विशेष कार्ययोजना तयार गरिएको जनाइएको छ।
प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थित सहरी विकासलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियान अघि बढाइएको जनाएको छ। नहर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा उपयोगी बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिने प्रशासनको भनाइ छ।

