बीरगन्ज,११ वैशाख । लामो समयदेखि आर्थिक संकटमा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावका कारण फेरि बन्द भएको छ। गत महिना केही मात्रामा क्लिङ्कर उत्पादन गरेको उद्योगले कोइला र ढुङ्गाजस्ता अत्यावश्यक कच्चा पदार्थ आपूर्ति नहुँदा सम्पूर्ण उत्पादन प्रक्रिया रोकिएको जनाएको छ।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कच्चा पदार्थ आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भए पनि भुक्तानी हुन नसक्दा ढुवानी रोकिएको हो। हाल मौज्दात सामग्रीबाट सीमित मात्रामा क्लिङ्कर उत्पादन र सिमेन्ट प्याकेजिङको काम मात्र भइरहेको छ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता भए पनि व्यवस्थापकीय कमजोरी, आर्थिक अभाव र बारम्बारको अवरोधका कारण उद्योग प्रायः बन्द हुने अवस्था दोहोरिँदै आएको छ। साथै, मेसिनहरूमा देखिएको प्राविधिक समस्याका कारण मर्मत कार्यसमेत भइरहेको छ। उद्योगमा कार्यरत १६६ स्थायी कर्मचारी, १०० दैनिक ज्यालादारी कामदार र ५२ सुरक्षाकर्मीले विगत १० महिनादेखि तलबसमेत नपाएको जनाइएको छ।

