वीरगन्ज,११ वैशाख । सीमावर्ती क्षेत्रबाट भन्सार प्रक्रिया पूरा नगरी भित्र्याइएका इलेक्ट्रिक स्कुटरमाथि कारबाही गर्दै सशस्त्र प्रहरी बल नेपाल ले २२ थान स्कुटर नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार रक्सौलबाट सस्तोमा ल्याइएका तथा चालक अनुमतिपत्र बिना समेत प्रयोग हुँदै आएका स्कुटरहरूको अवैध प्रयोग बढेपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।
सशस्त्र प्रहरीका अनुसार अभियानको पहिलो दिनमै वीरगन्ज र आसपासका विभिन्न नाकाबाट ती स्कुटरहरू जफत गरिएको हो। नियन्त्रणमा लिइएका मध्ये १४ थान वीरगन्ज–१६ मुख्य भन्सार नाकाबाट, ७ थान वीरगन्ज–२४ सिर्सिया नाकाबाट र १ थान बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट बरामद गरिएको छ।
जफत गरिएका स्कुटरहरूको कुल मूल्य करिब १७ लाख ३० हजार रुपैयाँ आँकलन गरिएको छ। सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध आयात र प्रयोग नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी अझ कडा बनाइने पनि जनाएको छ।

