काठमाडाै,११ वैशाख । भक्तपुरमा लामो समयदेखि प्रतिक्षामा रहेका सेवाग्राहीका लागि राहत दिने खबर आएको छ। यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुर ले आगामी ६ महिनाभित्र ठूलो संख्यामा सवारी अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने योजना अघि सारेको छ।
कार्यालयका अनुसार करिब १ लाख ७६ हजार २५० वटा लाइसेन्स वितरण गर्ने लक्ष्य राखिएको छ। हालैदेखि वितरण प्रक्रिया पुनः सुरु गरिएको छ, जसअन्तर्गत सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही लाइसेन्स वितरणमा ल्याइएको छ।
सूचना अधिकारी जीवन बस्नेत का अनुसार सुरुवाती तीन दिनमै करिब ३ हजार लाइसेन्स वितरण भइसकेको छ। तर अझै करिब १ लाख लाइसेन्स छपाइ भएर आउन बाँकी रहेकाले सम्पूर्ण वितरण प्रक्रिया पूरा गर्न समय लाग्ने देखिएको छ।
उनका अनुसार दैनिक ८ जना कर्मचारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी लाइसेन्स वितरण गर्न कठिन भइरहेको छ। यही गति कायम रहेमा सबै सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन करिब ६ महिना लाग्ने अनुमान गरिएको छ।
लाइसेन्स वितरण सुरु भएसँगै कार्यालयमा भीड अत्यधिक बढेको छ। चार वर्षदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राही बिहानैदेखि लाइन बस्न थालेपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
कार्यालयले सेवाग्राहीलाई भीड नगर्न आग्रह गर्दै, आवश्यक परेमा मोबाइल एपमार्फत लाइसेन्स देखाउन सकिने व्यवस्था भएको जानकारी दिएको छ। त्यसैले हतार नगरी क्रमशः आएर सेवा लिन अनुरोध गरिएको छ।
विगत चार वर्षदेखि रसिदका भरमा सवारी चलाउँदै आएका सेवाग्राहीका लागि यो प्रक्रिया अन्ततः राहतको संकेत बनेको छ—तर धैर्य भने अझै केही समय आवश्यक देखिन्छ।


