बारा,११ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमपूर्ण घर टहरामा व्यापार सञ्चालन नगर्न आग्रह गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोखरेलले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेका हुन्। सडक डिभिजन हेटौडाको कार्यक्रम अनुसार बैशाख ६ गते मितेरी पुलदेखि गण्डक चौकसम्म निर्धारित सीमाभित्र पर्ने घर टहराहरू भत्काइएको सो सूचनामा उल्लेख छ।
अधिकांश घरधनीहरूबाट स्वतस्फूर्त रूपमा भत्काईएका आफ्ना घर टहराहरूको व्यवस्थापन गर्ने कार्य भइरहेता पनि केही घर धनीहरूले भत्किएको जोखिमयुक्त घर टहरामा केही व्यक्तिहरूलाई व्यापार व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने सो सूचनामा लेखिएको छ।
त्यस्ता जोखिमपूर्ण संरचनामा रही व्यापार व्यवसाय सञ्चालन गर्दा हुन सक्ने विपदजन्य घटनाको जिम्मेवार स्वयम् घरधनी हुने तथा प्रचलित कानून बमोजिम कारवाही भई जाने जनाइएको छ। जोखिमपूर्ण अवस्थामा रहेका संरचनाहरू व्यवस्थापन गर्ने सिलसिलामा सम्बन्धित घरधनीहरूले कामदार जनशक्तिको सुरक्षालाई उच्च प्राथमिकता दिनुहुन भनिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख ११ गते आज बसेको बैठकको निर्णयानुसार सूचना प्रकाशित गरिएको प्रशासनले जनाएको छ।

