वीरगञ्ज, ११ बैशाख – वीरगञ्ज मुख्य सडकमा रहेका संरचनामाथि डोजर चलाएर भत्काइएपछि प्रभावित घरधनी तथा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्। हजारौँको संख्यामा जम्मा भएका स्थानीयहरूले नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन्।
प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “सडक डिभिजन मुर्दावाद“, “घरधनी तथा जग्गाधनीलाई मुआब्जा देऊ” जस्ता नाराहरू लगाउँदै सडक विस्तारको कार्य तत्काल रोक्न माग गरेका थिए। उनीहरूले उचित मुआब्जा र पुनःस्थापनाको व्यवस्था बिना घर भत्काउनु अन्यायपूर्ण भएको बताएका छन्।
वीरगञ्ज बचाउ संघर्ष समितिको अगुवाइमा आर्दशनगरबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेको थियो। त्यहाँ पुगेर उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा सडक विस्तारका क्रममा घरधनीहरूलाई बेघर बनाइएको भन्दै प्रभावितहरूका लागि उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
प्रदर्शनकारीहरूले राज्यले तत्काल पीडितहरूको समस्या समाधान गर्न ध्यान दिनुपर्ने चेतावनी दिएका छन्।

