काठमाडौं,११ वैशाख । प्रेस काउन्सिल नेपाल ले सञ्चार माध्यममा पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ।
काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा पछिल्ला दिनहरूमा तथ्यहीन, अपुष्ट र भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। यस्ता गतिविधिबारे उजुरी र जनगुनासा समेत बढिरहेको काउन्सिलको भनाइ छ।
काउन्सिलका अनुसार केही सञ्चार माध्यम र सञ्चारकर्मीहरूले विज्ञापनका नाममा दबाब दिने, अस्वीकार गरेमा प्रतिष्ठामा असर पर्ने गरी मिथ्या सामग्री प्रसारण गर्ने जस्ता गुनासा प्राप्त भएका छन्।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत प्रमाणबिना सामग्री सेयर गर्ने तथा छोटा भिडियो (रिल) मार्फत अतिरञ्जित रूपमा सूचना प्रस्तुत गर्ने प्रवृत्ति पनि बढ्दो रहेको जनाइएको छ।
बाँके, प्युठान, दाङ, अर्घाखाँची र कैलाली लगायत जिल्लामा सञ्चारकर्मीहरूले अनुमति बिना सरकारी कार्यालयमा प्रवेश गरी भिडियो खिच्ने, प्रश्न सोध्ने र पछि समाचार बनाएर बिल पेश गर्ने जस्ता घटनाहरू पनि उजुरीका रूपमा आएको काउन्सिलले जनाएको छ।
काउन्सिलले यस्ता गतिविधि पत्रकारिताको पेसागत मर्यादा विपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गरेको छ। साथै सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन आचारसंहिता पालना अनिवार्य रहेको स्पष्ट पारेको छ।
भ्रामक वा तथ्यहीन सामग्रीबाट प्रभावित व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी दिँदै काउन्सिलले यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

