जनकपुरधामका सडकमा फुटपाथ खाली गराउनासाथ अतिक्रमण सुरु, फेरि व्यापारिक थलो बन्दै

spot_img

जनकपुर,१७ वैशाख ।  केही साताअघि फुटपाथ र सडक अतिक्रमण हटाउन गरिएको अभियानपछि व्यवस्थित देखिएको जनकपुरधामको मुख्य बजार क्षेत्र अहिले फेरि पुरानै अव्यवस्थामा फर्किएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गर्दै रामानन्द चोक, रामचोक र जानकीचोकलगायत क्षेत्रबाट ठेला तथा सडक किनारका पसल हटाएको थियो। तर केही दिनमै व्यापारीहरूले पुनः सडक पेटीमै व्यापार सुरु गरेपछि समस्या दोहोरिएको हो।

स्थानीयवासीका अनुसार बिहान र साँझको समयमा तरकारी, फलफूल र अन्य सामग्री बेच्ने ठेलावालाको भीडले मुख्य सडक साँघुरो बनाइदिएको छ। यसले पैदल यात्री र सवारी आवागमन दुवैलाई कठिन बनाएको छ।

स्थानीयहरूका भनाइमा नगरपालिकाको अतिक्रमण हटाउने अभियान क्षणिक देखिएको छ। केही दिन कडाइ गर्ने र पछि नियन्त्रण कमजोर हुने प्रवृत्तिले समस्या समाधान नभएको उनीहरूको गुनासो छ।

नगर प्रवक्ता परमेश झा का अनुसार नगर प्रहरी नियमित अनुगमनमा खटिरहेको भए पनि स्थानीयको सहयोग बिना समस्या समाधान कठिन हुने बताइएको छ।

यता व्यापारमा संलग्न साना व्यवसायीहरूले भने रोजीरोटीको बाध्यताले सडक पेटीमा व्यापार गर्नुपरेको तर्क गरेका छन्। तर स्थायी पसल सञ्चालकहरूले कर तिरेर व्यवसाय गर्नेहरूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

समाजसेवीहरूको भनाइमा पटक–पटक ‘हटाऊ अभियान’ चलाइए पनि दीर्घकालीन समाधान नहुँदा समस्या पुनः दोहोरिने गरेको छ। उनीहरूले व्यवस्थित हाटबजार वा वैकल्पिक व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

सहरको मुख्य बजार क्षेत्रमा बढ्दो अतिक्रमणले ट्राफिक जाम, दुर्घटनाको जोखिम र सहरको सौन्दर्यमा प्रत्यक्ष असर पारेको देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय