वीरगंज, १७ वैशाख — नविल बैंक र नारायणी अस्पतालको संयुक्त आयोजनामा तथा फ्याक्ट नेपाल, कीर्तिपुर अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा वीरगंजमा निःशुल्क जलन उपचार शिविर बिहीबारदेखि सुरु भएको छ।
नारायणी अस्पताल परिसरमा वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने यस शिविरमा आगोले पोलिएर शरीरका विभिन्न भाग आपसमा टाँसिने (कन्ट्र्याक्चर) जस्ता जटिल समस्याबाट पीडित बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था गरिएको आयोजक नविल बैंकले जनाएको छ।

शिविरका लागि मधेश प्रदेशका ६ जिल्लाका २७ वटा पालिकामा पूर्व–स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरी छनोट गरिएका बिरामीहरूको उपचार गरिनेछ। साथै, शिविरबारे जानकारी पाएर सिधै नारायणी अस्पताल पुगेका बिरामीहरूलाई पनि परामर्श र आवश्यक सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
काठमाडौंबाट आएका अनुभवी प्लास्टिक सर्जनहरूको टोलीले बिरामीहरूको परीक्षण, परामर्श तथा शल्यक्रिया (अपरेसन) गर्ने नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरंजन साहले जानकारी दिए।
कार्यक्रम संयोजक कैलाश खाकी श्रेष्ठका अनुसार, वैशाख १४ देखि १७ गतेसम्म सञ्चालन गरिएको स्क्रिनिङ्ग शिविरमा १४० भन्दा बढी जलनका बिरामी पहिचान भएका थिए, जस मध्ये कम्तीमा ४० जनालाई शल्यक्रिया आवश्यक पर्ने अवस्था रहेको छ।
उपचारका लागि पहिलो दिन २० जना बिरामी अस्पतालमा उपस्थित भएका थिए, जस मध्ये केहीको आजै अपरेसन गरिने शिविरमा संलग्न प्राे. डा. शंकरमान राइले बताए।

नारायणी अस्पताल स्रोतका अनुसार, मधेश प्रदेशमा जलनका समस्या विशेषगरी महिला तथा बालबालिकामा बढी देखिने गरेको छ। असावधानी, जनचेतनाको कमी, आर्थिक अभाव तथा विशेषज्ञ चिकित्सकको अभावका कारण धेरै बिरामीहरूले समयमै उचित उपचार पाउन नसक्ने अवस्था रहेको छ।
यस्तो परिस्थितिमा नविल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको यो निःशुल्क जलन उपचार शिविर मधेश प्रदेशका बिरामीहरूका लागि अत्यन्त प्रभावकारी र जीवन परिवर्तन गर्ने पहल हुने चिकित्सकहरूको विश्वास रहेको छ।
नविल बैंकले स्वास्थ्य क्षेत्रमा यस्तो मानवीय र प्रभावकारी पहल गर्दै समुदायप्रति आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।

