वीरगंज, १८ बैशाख — वीरगंजमा सञ्चालन भइरहेको निःशुल्क जलन उपचार तथा शल्यक्रिया (अप्रेसन) शिविरमा बिरामीहरूको उल्लेख्य सहभागिता देखिएको छ।
नबिल बैंक र नारायणी अस्पतालको संयुक्त आयोजनामा तथा फ्याकट नेपाल किर्तिपुर अस्पताल, काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित शिविरको दोस्रो दिन ३५ जना जलनका बिरामीहरूले सेवा लिएका छन् ।
आयोजकका अनुसार दुई दिनको अवधिमा कुल ५४ जना बिरामी उपचारका लागि शिविरमा पुगेका छन्। तीमध्ये करिब ३६ जना भन्दा बढी बिरामीको शल्यक्रिया गर्न सकिने अवस्था रहेको जनाइएको छ।
विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत बिरामीहरूको जाँच, उपचार तथा आवश्यक शल्यक्रिया सेवा निःशुल्क प्रदान भइरहेको छ। शिविरले विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रबाट आएका जलनका बिरामीहरूलाई राहत पुर्याएको आयोजकले जनाएको छ।




