रौतहट,२० वैशाख । रौतहटमा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका–९ की ५५ वर्षीया अंकलिया देवी मुसहरलाई स्थानीय केही व्यक्तिले जबर्जस्ती मानव मलमूत्र खुवाएको आरोप लागेको हो।
घटना शनिबार साँझ डुमरिया मुसहरी टोलमा भएको बताइएको छ। स्थानीय एक विवाह समारोहका क्रममा जन्ती पक्षबाट आएका एक बालक बिरामी परेपछि त्यसको दोष अंकलिया देवीमाथि लगाइएको थियो। उनलाई जादुटुना गरेको आरोप लगाउँदै १५–२० जनाको समूह घरमै पुगेको पीडित परिवारको भनाइ छ।
पीडितकी छोरीका अनुसार समूहले उनकी आमालाई समातेर बियरको बोतलमा घोलेको मलमूत्र जबर्जस्ती खुवाएको थियो। विरोध गर्दा आफूहरूमाथि समेत हातपात भएको उनले बताइन्। घटनाका बेला घरमा आमा–छोरी मात्र रहेको जनाइएको छ।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट पुगेको टोलीले महिलाको उद्धार गरेको थियो। अचेत अवस्थामा फेला परेकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि सामान्य अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ।
घटनापछि आरोपीलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीय केही व्यक्तिले अवरोध र आक्रमणको प्रयास गरेको पनि प्रहरीले जनाएको छ। हाल पीडित महिलालाई सुरक्षा व्यवस्थासहित अन्यत्र राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाको अनुसन्धान तीव्र पारिएको र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

