काठमाडौं,२० वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्बासी बस्ती हटाउने कामलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन साह प्रति कटाक्ष गरेका हुन्।
प्रसाईँले सुकुम्बासी बस्तीमा डोजर चलाउनुको सट्टा लिपुलेक–कालापानी क्षेत्रको संरक्षणमा ध्यान दिन सरकारलाई सुझाव दिए। भारत र चीनले मानसरोवर मार्ग सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै उनले नेपाली सेना सीमाक्षेत्रमा सक्रिय हुनुपर्ने धारणा राखे।
उनले “ग्रेटर नेपाल” को नक्सा झुण्ड्याउने मात्र नभई हराएको भूभाग फिर्ता ल्याउन पहल आवश्यक रहेको बताए। उनका अनुसार नेपाली सेना सुकुम्बासी बस्ती हटाउने काममा होइन, राष्ट्रिय सीमा सुरक्षामा केन्द्रित हुनुपर्छ।
साथै, प्रसाईँले सुकुम्बासीप्रति सरकारको व्यवहार अमानवीय भएको आरोप लगाए। गरिब नागरिकलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु दुःखद भएको भन्दै उनले घर प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गरे।

