सुनको मूल्य दुई दिनमै ७६ सयले बढ्यो

spot_img

काठमाडौं,२४ वैशाख । नेपाली सुन बजारमा पछिल्ला दुई दिनयता सुनको मूल्यले लगातार नयाँ रेकर्डतर्फ उकालो लागेको छ । मंगलबारको तुलनामा केवल ४८ घण्टामै सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेपछि बजारमा उपभोक्ता र व्यवसायी दुवै चकित बनेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्रै सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । योसँगै नेपाली बजारमा सुनको मूल्य अब तीन लाख रुपैयाँको मनोवैज्ञानिक सीमासम्म पुग्न लागेको देखिएको छ ।

मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट फेरि वृद्धि हुँदा दुई दिनमै उल्लेख्य मूल्य अन्तर देखिएको हो ।

सुनसँगै चाँदीको मूल्य पनि लगातार उकालो लागेको छ । बिहीबार चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ पुगेको छ । केही दिनअघि मात्रै ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आएको तीव्र वृद्धिले बजारमा थप दबाब सिर्जना गरेको व्यवसायीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विश्व आर्थिक गतिविधिमा आएको उतारचढाव तथा सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणका कारण सुन–चाँदीको मूल्य लगातार बढिरहेको विश्लेषण गरिएको छ । यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत देखिएको हो ।

मूल्यमा निरन्तर वृद्धि भइरहँदा सामान्य उपभोक्ताका लागि सुन खरिद झन् कठिन बन्दै गएको छ भने विवाह तथा अन्य समारोहका लागि गहना किन्ने योजनामा रहेका परिवारहरू थप प्रभावित भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय