काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा गरिएको विशेष चेकिङका क्रममा २ हजार १०५ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना चालक पक्राउ परेका छन् भने नियमविपरीत राइड सेयरिङ गर्ने १९३ जनामाथि कारबाही गरिएको छ ।
यस्तै, ट्राफिक बत्ती उल्लंघन गर्ने १३३, तीव्र गतिमा सवारी चलाउने १३९, लेन मिच्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा पार्किङ गर्ने ८७ तथा एकतर्फी सडकमा सवारी चलाउने ७९ जना चालक पनि कारबाहीमा परेका छन् ।
यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १६४ जना चालकलाई समेत जरिवाना गरिएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको कडाइ जारी रहने ट्राफिक प्रहरीको भनाइ छ ।


