बीरगन्ज,२३ वैशाख । मधेश प्रदेशमा केही दिनदेखि तीव्र बनेको सत्ता समीकरण परिवर्तनको प्रयास केन्द्रस्तरीय राजनीतिक हस्तक्षेपपछि तत्कालका लागि रोकिएको छ। शीर्ष नेताहरूबीच काठमाडौंमा भएको छलफलपछि वर्तमान सरकारलाई तत्काल नढाल्ने सहमति बनेसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार केही समयका लागि सुरक्षित बनेको हो।
सत्ता साझेदार दल जसपा नेपाल, लोसपा र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरे पनि केन्द्रको हस्तक्षेपपछि मंगलबार हुने भनिएको प्रक्रिया रोकिएको बताइएको छ। जनमत पार्टीले सरकारबाट अलग हुने संकेत दिएपछि मधेशको राजनीति थप तनावपूर्ण बनेको थियो।
तर नयाँ गठबन्धन निर्माणको प्रयास भने सहज देखिएको छैन। एमाले संसदीय दलका नेता सरोजकुमार यादवसँगको छलफल सकारात्मक हुन नसक्नु र दलहरूबीच अविश्वास बढ्दै जानुले समीकरण परिवर्तनको सम्भावना जटिल बनेको छ। यता सरकारभित्रै असन्तुष्टि चुलिएको छ। मुख्यमन्त्री यादवमाथि एकल शैलीमा निर्णय गर्ने, मन्त्रालयमा हस्तक्षेप गर्ने र कर्मचारी सरुवामा मनोमानी गरेको आरोप आफ्नै गठबन्धनका नेताहरूले लगाइरहेका छन्।
जनमत पार्टीभित्रको विवादले पनि मधेश राजनीति थप पेचिलो बनेको छ। पार्टीका बहुमत सांसदले महेशप्रसाद यादवलाई हटाएर चन्दन सिंहलाई संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्र दुई ध्रुव स्पष्ट देखिएका छन्। १०१ सदस्यीय मधेश प्रदेश सभामा बहुमतको अंकगणित निकै संवेदनशील अवस्थामा रहेको छ। केही सांसद निलम्बनमा रहनु र केही पद रिक्त हुनुले कुनै पनि बेला सत्ता समीकरण फेरिन सक्ने अवस्था बनेको छ।
यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउत नयाँ राजनीतिक समीकरणको प्रयासमा सक्रिय रहेको र मुख्यमन्त्रीले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताले मधेश सरकारमाथिको संकट अझै कायम रहेको राजनीतिक वृत्तमा चर्चा छ।


