spot_img

निलकण्ठ अस्पतालमा रहस्यमय मृत्यु : छानबिन बिना ४ लाखमा ‘सेटल’, प्रहरीकै सामु मुद्दा दबाइयो

spot_img
spot_img

वीरगंज, २५ बैशाख –  वीरगंजका निजी अस्पतालहरूमा उपचारमा लापरबाही भए–नभएको यकिन नगरी घटनालाई आर्थिक लेनदेनमार्फत मिलाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ। पछिल्लो उदाहरणका रूपमा हुलाकी राजमार्गअन्तर्गत रहेको निलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटना रकम लेनदेनमै टुंग्याइएको पाइएको छ।

वीरगंज महानगरपालिका–३१, चोर्नी निवासी कपिलदेव साहकी करिब ४८ वर्षीया श्रीमती प्रमिला देवीलाई पेट दुखेपछि शुक्रबार बिहान करिब ४ बजे उपचारका लागि निलकण्ठ अस्पतालमा भर्ना गरिएको थियो। परिवारका अनुसार अस्पताल ल्याउँदासम्म उनको अवस्था सामान्य नै थियो र उनी मोटरसाइकलमै अस्पताल पुगेकी थिइन्। अस्पताल परिसरमा समेत उनी आफैं हिँडेर प्रवेश गरेकी थिइन्।

उक्त समयमा अस्पतालमा विशेषज्ञ चिकित्सक उपस्थित नभई मेडिकल अफिसर मात्र रहेका थिए। सामान्य जाँचपछि इमर्जेन्सी डाक्टरले औषधि लेखेका थिए। औषधि खरिद गरी ल्याएपछि एक नर्सले इन्जेक्सन लगाएकी थिइन्। तर, ती नर्स दक्ष नभएको र केनुला समेत राम्रोसँग लगाउन नसकेको दृश्य सीसीटीभी फुटेजमा देखिएको परिवारको दाबी छ।

इन्जेक्सन लगाएको केही मिनेटमै बिरामीको अवस्था अचानक बिग्रिएको, बान्ता भएको र लगत्तै मृत्यु भएको परिवारजनले बताएका छन्। घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा विरोध जनाएका थिए। त्यसको केही समयमै वडा प्रहरी कार्यालय श्रीपुरको टोली अस्पताल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको स्वीकार गरेको दाबी गरिएको छ। तर, घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम वा चिकित्सकीय परीक्षण नगरी स्थानीय प्रहरीकै रोहवरमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिमा मिलापत्र गरिएको छ।

यस घटनाले गम्भीर प्रश्नहरू खडा गरेको छ। कानुनी रूपमा मृत्युको कारण यकिन गरी दोषी पाइए कारबाही हुनु पर्नेमा, बिना अनुसन्धान सीधै आर्थिक सम्झौतामार्फत घटना टुंग्याउनु कानुन विपरीत भएको सरोकारवालाहरू बताउँछन्।

अर्कोतर्फ, अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुनु सामान्य चिकित्सकीय जोखिम पनि हुन सक्छ। तर, प्रत्येक घटनामा तथ्य अनुसन्धान नगरी हल्ला र दबाबका आधारमा रकम असुली गर्ने प्रवृत्ति पनि मौलाउँदै गएको छ कि भन्ने प्रश्न उठ्न थालेको छ।

निलकण्ठ अस्पतालको यस घटनाले वीरगंजको स्वास्थ्य क्षेत्र, अस्पताल व्यवस्थापन तथा प्रहरी प्रशासनमाथि गम्भीर शंका उत्पन्न गरेको छ। मिलापत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादवले हस्ताक्षर गरेको र मृतक परिवारलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिसकिएको स्रोतले जनाएको छ।

प्रमिला देवीको मृत्युको वास्तविक कारण भने अझैसम्म सार्वजनिक हुन सकेको छैन। यसले न्यायिक प्रक्रिया, स्वास्थ्य सेवाको विश्वसनीयता र सर्वसाधारणको भरोसामाथि गम्भीर प्रश्न खडा गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजु कार्कीले अस्पतालमा प्रहरी शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताएका छन्। उनका अनुसार उपचारसम्बन्धी कारबाही गर्ने–नगर्ने विषय नेपाल मेडिकल काउन्सिल ले नै हेर्ने गर्छ। साथै, उनले उजुरी परेमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारे।

वीरगंजका एक चिकित्सकले पैसा लेनदेन गरेर घटना मिलाउनु कानुनविपरीत रहेको बताएका छन्। उनका अनुसार चिकित्सक संघ यस्ता गतिविधिहरूको सधैं विरोध गर्दै आएको छ। तर, अस्पतालसम्बन्धी घटनाहरूमा प्रहरीले पटक–पटक कानुनको धज्जी उडाउँदै आएको, नेपाल मेडिकल काउन्सिललाई समेत बेवास्ता गरी आफैं मिलापत्र गराउने काममा सक्रिय हुने गरेको र यो उनीहरूको पुरानै प्रवृत्ति रहेको उनले उल्लेख गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय