काठमाडाै,३१ वैशाख । भारतीय ब्याटर विराट कोहली टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका खेलाडी कोहलीले नटआउट १०५ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय कोहलीले ४०९ पारीमा १४ हजार रन बनाएका हुन् । उनले वेस्ट इन्डिजका पूर्वक्रिकेटर क्रिस गेलको कीर्तिमान तोडे ।
गेलले ४२३ पारीमा १४ हजार रन पूरा गरेका थिए । यस्तै विराट कोहली टी–२० क्रिकेटमा १० वटा शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । समग्रमा उनी १० वा त्योभन्दा धेरै शतक बनाउने चौथो खेलाडी बनेका छन् । टी–२० क्रिकेटमा क्रिस गेलले २२, पाकिस्तानका बाबर आजमले १३ र अस्ट्रेलियाका डेभिड वार्नरले १० वटा शतक बनाएका छन् । यस्तै आईपीएलमा विराट कोहलीको यो नवौँ शतक हो । कोहली आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने खेलाडी हुन् । दोस्रो स्थानमा रहेका इङ्ग्ल्यान्डका जस बटलरले ७ वटा शतक बनाएका छन् ।
यस्तै कोहली आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । कोहलीको यो २७९औँ आईपीएल खेल हो । उनले समान २७८ खेल खेलेका महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पछि पारेका हुन् । यस्तै कोहली लगातार २ खेलमा शून्यमा आउट भएपछि अर्को खेलमा शतक बनाउने आईपीएल इतिहासकै पहिलो खेलाडी बनेका छन् ।
यसअघि उनी लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्ससँगको खेलमा ‘डक’ आउट भएका थिए ।



