बीरगन्ज,११ असार । जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर सभाको १४औँ अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरिएको बजेट पछिल्ला वर्षहरूको तुलनामा घट्दो क्रममा रहेको देखिएको छ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब १० करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। यस आधारमा आगामी आर्थिक वर्षको बजेट चालु वर्षको तुलनामा करिब १३ करोड १ लाख रुपैयाँ तथा दुई वर्षअघिको तुलनामा २३ करोड ५० लाख रुपैयाँले कम रहेको छ।
उपमहानगरपालिकाका अनुसार आगामी वर्षको बजेट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर तयार गरिएको हो। २४ वटै वडामा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट समेत विनियोजन गरिएको जनाइएको छ।
नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका थिए भने सभाको अध्यक्षता नगर प्रमुख राजन पौडेलले गरेका थिए। सीमित स्रोत र साधनका बीच पनि जनताको आवश्यकता सम्बोधन गर्ने तथा जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याइएको उपमहानगरपालिकाले जनाएको छ।




