वीरगञ्ज — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित सुरक्षा व्यवस्थाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार र राष्ट्रिय सुरक्षा परिषद्बाट स्वीकृत भइसकेकाले सोहीअनुसार सेनाको परिचालन अघि बढाइनेछ। उनका अनुसार निर्वाचनको लगभग एक महिना अघिदेखि नै सेना फिल्डमा खटिन सुरू गर्नेछ।
मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा जिम्मा सेनाले लिनेछ। यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै जिल्ला प्रशासनसँग सहकार्यमा एकीकृत तालिम तथा अभ्यास सञ्चालन गरिने सेनाले जनाएको छ।
उनका भनाइअनुसार, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ।
मतदानको दिन सेनाले तेस्रो घेरामा रही उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नेछ। त्यस्तै मतदान सकिएपछि मतपेटिका ढुवानीदेखि मतगणना स्थलको सुरक्षा व्यवस्थासमेत सेनाले जिम्मा लिने तयारी गरेको छ।
प्रदेशस्तरमा भइरहेको सुरक्षा गोष्ठीमार्फत प्राप्त सुझावका आधारमा थप सुरक्षा रणनीति तयार भइरहेको सेनाको भनाइ छ। सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीच समन्वय तथा सहकार्य गर्दै निर्वाचन सुरक्षालाई राज्यको प्राथमिकताका रूपमा अघि बढाइने सेनाले स्पष्ट पारेको छ।



