काठमाडौं,२५ वैशाख । नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार दृढ रहेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले नेपालको भूभागसम्बन्धी अडान स्पष्ट र अडिग रहेको बताएका हुन्।
उनका अनुसार नेपालले यस विषयमा आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। विशेषगरी नेपाली भूमि हुँदै भारत–चीनबीच सञ्चालन हुने भनिएको कैलाश मानसरोवर यात्राको प्रसंगमा सरकारले वैशाख २० गते औपचारिक धारणा सार्वजनिक गरेको उल्लेख गरिएको छ।
प्रवक्ता पौडेलले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार पूर्ण रूपमा स्पष्ट रहेको बताए।
नेपालले आफ्नो धारणा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट पुनः जानकारी गराइसकेको पनि उनले उल्लेख गरे। नेपाल–भारतबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै तथ्य, प्रमाण, नक्सा तथा ऐतिहासिक सन्धिका आधारमा सीमा समस्या समाधान गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको सरकारको भनाइ छ।




