शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएकाले व्यवसायीमाथि अनावश्यक त्रास सिर्जना गर्ने काम नगर्ने बताए। “उद्योगी–व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,” उनले भने, “तपाईंहरू अर्थतन्त्रका साझेदार हुनुहुन्छ, हल्लामा विश्वास नगर्नुस्।”
उनले सरकारले १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए।
कार्यक्रममा मन्त्री वाग्लेले सरकारका पाँच मुख्य प्राथमिकताबारे पनि चर्चा गरे। उनका अनुसार सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, सामाजिक क्षेत्रमा लगानी तथा पर्यटन, संस्कृति र इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार सरकारका प्रमुख प्राथमिकता हुन्।
अर्थमन्त्री वाग्लेले मुलुक अहिले अर्थतन्त्र सुधारको निर्णायक मोडमा रहेको दाबी गर्दै व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे। उनले राजनीतिक स्थायित्व र इमानदार नेतृत्वमार्फत भारतले हासिल गरेको आर्थिक प्रगतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले पनि त्यही बाटो समात्नुपर्ने बताए।
उनका अनुसार सन् २०१४–१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हाल्दा भारतका केही आर्थिक सूचक अहिलेको नेपालसँग मिल्दोजुल्दो अवस्थामा थिए, तर पछिल्लो दशकमा भारतले उल्लेखनीय प्रगति गरेको छ।