बीरगन्ज,२६ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तु उद्धार र उपचारलाई प्रभावकारी बनाउन ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ सञ्चालनमा ल्याएको छ। यो टोली सक्रिय भएपछि घाइते वन्यजन्तुको तत्काल उद्धार र उपचारमा सहजता आएको निकुञ्ज प्रशासनले जनाएको छ।
हालै बाराको निजगढ बजार क्षेत्रमा राजमार्गमा घाइते अवस्थामा भेटिएको बाँदरको सूचना पाएलगत्तै टोली घटनास्थल पुगेको थियो। उद्धारपछि बाँदरको उपचार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमै छोडिएको थियो।
वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज प्रशासनले स्थापना गरेको यो टिममा पशु चिकित्सक, प्राविधिक, सवारी चालक तथा आवश्यक परे थप कर्मचारी समेत परिचालन हुने व्यवस्था गरिएको छ।
निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार सूचना प्राप्त हुनासाथ टोली पर्सा, बारा, मकवानपुर र रौतहटसम्म समेत पुगेर उद्धार कार्य गर्ने गरेको छ। यसले पहिले राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको टोलीमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरेको छ।
यसअघि पनि निकुञ्जले बाघ, चित्तल, गोमन, किङ कोब्रा, अजिंगर, सालक र निलगाई लगायतका दर्जनौँ वन्यजन्तुको उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिसकेको छ।
निकुञ्ज क्षेत्रभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गमा सवारी चाप बढी हुँदा वन्यजन्तु दुर्घटनाको जोखिम उच्च रहेको छ। चालु आर्थिक वर्षमा मात्र सवारी दुर्घटनामा चितुवा, जरायो, चित्तल, बाँदर लगायतका वन्यजन्तु मरेको निकुञ्जले जनाएको छ।
यस्ता घटना न्यूनीकरणका लागि वन्यजन्तु सप्ताहका अवसरमा सवारी चालक, सहचालक तथा ट्राफिक प्रहरीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि निकुञ्जले जनाएको छ।




