काठमाडौं,२७ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। सार्वजनिक सेवा प्रवाहलाई थप स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित अभियान सुरु गर्न लागिएको हो।
सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन–२०८३’ अनुसार संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ।
अभियानको औपचारिक शुभारम्भ वीर अस्पताल बाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता को उपस्थितिमा हुने तय गरिएको छ।
मार्गदर्शनअनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार, सूचना बोर्ड व्यवस्थित गर्ने तथा सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ। कार्यालय परिसर, नाली, ढल तथा पार्किङ क्षेत्रसमेत सफा राख्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले शौचालयलाई दुर्गन्धरहित बनाउने, साबुनसहित हात धुने व्यवस्था अनिवार्य गर्ने, महिला तथा अपाङ्गतामैत्री सुविधा विस्तार गर्ने र कुहिने–नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने मापदण्ड समेत लागू गरेको छ। खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी प्रत्येक कार्यालयमा हेल्प डेस्क स्थापना, सूचना प्रणाली प्रभावकारी सञ्चालन तथा सेवाग्राहीलाई सम्मानजनक वातावरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
अभियानलाई प्रभावकारी बनाउन प्रत्येक निकायले ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने तथा साप्ताहिक कार्यतालिका बनाएर मासिक स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसको अनुगमन र कार्यान्वयनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको सरकारले जनाएको छ।
सरकारले यो अभियानलाई संघीय, प्रादेशिक र स्थानीय कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थासम्म विस्तार गर्ने योजना बनाएको छ।




