काठमाडौं,३० वैशाख । प्रतिनिधिसभाको बैठक बुधबार १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख डिपी अर्यालले विपक्षी दलहरूको अवरोधपछि बैठक स्थगित भएको घोषणा गरेका हुन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठक अघि बढ्न नदिने अडान लिएका थिए।
प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद्मा विवाद उत्पन्न भएको हो। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहारको रूपमा व्याख्या गर्दै तत्काल उपस्थित गराउन माग गरेका थिए।
सत्तापक्षले भने प्रतिनिधिसभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री अनुपस्थित हुँदा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन र जवाफ दिन सक्ने व्यवस्था रहेको तर्क गरेको थियो।
तर विपक्षी सांसदहरूले “दफा ३८ देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज नै नसुन्ने हो ?” भन्दै आपत्ति जनाएका थिए। यही विवादका बीच संसद्को वातावरण तनावपूर्ण बनेपछि सभामुख अर्यालले बैठक केही समयका लागि स्थगित गरेका हुन्।



