काठमाडौं,०१ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १४४ जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना चालक कारबाहीमा परेका छन् भने नियमविपरीत राइड सेयरिङ गर्ने १५१ जनामाथि पनि कारबाही गरिएको छ। त्यसैगरी ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४९ र तीव्र गतिमा सवारी चलाउने १८६ जना चालकलाई समेत जरिवाना गरिएको प्रहरीले जनाएको छ।
यसैबीच लेन अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ तथा एकतर्फी सडकमा सवारी चलाउने ११८ जनालाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ११० जना चालकसमेत कारबाहीको दायरामा परेका छन्। उपत्यकामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित निगरानी र कारबाहीलाई थप कडा बनाइएको प्रहरीले जनाएको छ।




