spot_img

प्रेमी भेट्न मध्यराति ‘जेल ब्रेक’ गरेकी जन्मकैदी युवती ठमेलबाट पक्राउ

spot_img
spot_img

काठमाडौँ,०४ जेठ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) को कडा सुरक्षा घेरालाई चकित पार्दै मध्यराति ‘जेल ब्रेक’ गरेर फरार भएकी २५ वर्षीया कैदी सपना तामाङलाई प्रहरीले ४८ घण्टाभित्रै पुनः पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले आइतबार राति उनलाई पर्यटकीय क्षेत्र ठमेलबाट नियन्त्रणमा लिएको हो । नुवाकोटको विदुर नगरपालिका–१३ घर भएकी सपना शुक्रबार राति १ बजेतिर कारागारको महिला बन्दीगृहको पर्खाल नाघेर फरार भएकी थिइन् । कारागारको सीसीकैमरा फुटेजअनुसार उनले भुइँमा अग्ला वस्तुहरू खाँदेर पासो जस्तो बनाई पर्खाल नाघेको देखिएको छ ।

अनुसन्धानका क्रममा जेल ब्रेकको मुख्य उद्देश्य प्रेम सम्बन्ध रहेको सनसनीपूर्ण खुलासा भएको छ । प्रहरीले सपनासँगै उनका प्रेमी भनिएका २६ वर्षीय समीर श्रेष्ठलाई पनि असनस्थित उनकै कोठाबाट पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार समीरकी आमा यसअघि सुन्धारा कारागारमै रहँदा आमालाई भेट्न जाने क्रममा समीर र सपनाबीच प्रेम अंकुरित भएको थियो। जेलभित्रैबाट प्रेमी र उनका बुबासँग नियमित फोन सम्पर्कमा रहेकी सपनाले शुक्रबार राति भाग्नेबित्तिकै समीरलाई फोन गरेकी थिइन् ।

समीरको फोन नलागेपछि बुबामार्फत सम्पर्क गरी उनी सिधै प्रेमीकै कोठामा पुगेर लुकेकी थिइन् । फरार कैदीलाई संरक्षण दिएको र प्रहरीलाई खबर नगरेको कसुरमा समीरमाथि पनि अनुसन्धान सुरु गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेकी सपना तामाङ सामान्य कैदी नभएर डाँका चोरी, अपहरण र हत्या जस्तो जघन्य अपराधमा जन्मकैद (२५ वर्ष) को सजाय काटिरहेकी क्रुर अपराधी हुन् । १७ वर्षकै उमेरदेखि चोरी डकैतीमा संलग्न उनीमाथि २०७७ सालमा रसुवाकी ६ वर्षीया बालिका सुमिना तामाङको कानको मुन्द्रा लुटेर पहिचान खुल्ने डरले डोरीले घाँटी कसी हत्या गरेको गम्भीर अभियोग प्रमाणित भइसकेको छ ।

कडा सुरक्षाबीच रहने उनी कारागार प्रशासनको आँखा छलेर भागेको यो पहिलो पटक भने होइन । यसअघि गत भदौ २४ गते पनि जेनजी आन्दोलनको फाइदा उठाउँदै उनी जेलबाट भागेकी थिइन्, उक्त समयमा प्रहरीले कात्तिक १६ गते रसुवाबाट पुनः समातेर सुन्धारा ल्याएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय